‘जेनजी’ आन्दोलनमा अभिलेख जल्यो, यातायात कार्यालयको काम अस्थायी संरचनाबाट

बाँके | मंसिर २८, २०८२

‘जेनजी’ आन्दोलनमा अभिलेख जल्यो, यातायात कार्यालयको काम अस्थायी संरचनाबाट

बाँके:   जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । 


आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् ।


हाल कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख कालिदास बस्यालका अनुसार आन्दोलनका क्रममा भएको आगजनीले सेवा कक्ष, अभिलेख कक्ष, कम्प्युटर, प्रिन्टर, सर्भर प्रणाली तथा फर्निचरमा व्यापक क्षति पुगेको छ ।


“भौतिक संरचनाभन्दा पनि कागजातको क्षति गम्भीर छ । करिब ९५ प्रतिशत अभिलेख जलेका छन्”, उनले भने । आगलागीपछि सेवा पूर्ण रूपमा ठप्प नहोस् भन्ने उद्देश्यले कार्यालयलाई तत्काल सडक विभागको भवनमा सारेर अस्थायी रूपमा सञ्चालन गरिएको हो । तर, अस्थायी संरचनाबाट सेवा दिँदा स्थान अभाव, सीमित काउन्टर, प्रविधिगत समस्या तथा सेवाग्राहीको चाप व्यवस्थापन चुनौतीपूर्ण बनेको कार्यालयका प्रमुख बस्यालले जानकारी दिए ।


यद्यपि, यस्ता कठिनाइबीच पनि सवारीसाधन नवीकरण, सवारी दर्ता, सवारी कर संकलन तथा चालक अनुमतिपत्र नवीकरणजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालन भइरहेका छन् । उनका अनुसार सीमित स्रोतसाधनमै भए पनि सेवाग्राहीलाई असुविधा नहोस् भन्ने प्रयास गरिएको छ । कागजात नष्ट भएपछि अभिलेख पुनर्निर्माण कार्यालयका लागि अर्को ठूलो चुनौती बने पनि सेवा प्रणाली डिजिटल रहेकाले केन्द्रीय सर्भरमा सुरक्षित रहेका विवरणले राहत दिएको प्रमुख बस्यालको भनाइ छ ।


“लाइसेन्स र सवारी दर्तासम्बन्धी धेरै विवरण डिजिटल रूपमा सुरक्षित रहेकाले त्यसैको आधारमा अभिलेख पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको छ”, उनले भने । साथै सेवाग्राहीसँग रहेका प्रतिलिपि र अन्य कार्यालयका अभिलेखको सहायताले पुनःप्रमाणिकरण गरिने प्रमुख बस्यालले जानकारी दिए ।


भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यालयले सम्पूर्ण अभिलेख डिजिटलाइजेसन, नियमित डेटा ब्याकअप, आगलागी नियन्त्रण प्रणाली, सीसीटीभी जडान तथा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने योजना अघि सारेको उनले बताए । यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको प्रमुख बस्यालको भनाइ थियो ।


“यातायात कार्यालयको स्थायी पुनर्निर्माणका विषयमा पनि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ”, उनले भने, “क्षति मूल्याङ्कनको विस्तृत प्रतिवेदन तयार भएपछि नयाँ भवन निर्माण र बजेट विनियोजनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।”


अस्थायी अवस्थाका कारण केही असुविधा भए पनि कार्यालयले सेवाग्राहीलाई संयम अपनाउन आग्रह गरेको छ । “कठिन परिस्थितिमा पनि सेवा निरन्तरता दिन हामी प्रतिबद्ध छौँ”, उनले भने, “अस्थायी अवस्थालाई बुझेर सहकार्य गरिदिन सबै सेवाग्राहीमा अनुरोध गर्दछु ।” उनका अनुसार सुदूरपूर्व ताप्लेजुङ र इलामबाट पनि सेवा लिन बाँकेको यातायात कार्यालयमा सेवाग्राही आउने गरेका छन् ।


“आगलागीले क्षतिग्रस्त अभिलेख पुनर्निर्माणको प्रक्रिया निकै चुनौतीपूर्ण भए पनि डिजिटल प्रणाली र सेवाग्राहीसँग उपलब्ध प्रतिलिपिले काम सहज बनाएको छ”, उनले भने, “कार्यालयले आगामी वर्षसम्म सबै अभिलेखलाई पूर्ण रूपमा डिजिटलाइजेसन गर्ने योजना पनि अघि सारेको छ ।”

पोखरा:   पोखरामा जारी प्रधानमन्त्री (पिएम) कप कास्की जिल्ला स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा लेखनाथले विजयी हासिल गरेको छ ।  कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा पोखरा र...

थप पढ्नुहोस्

पोखरा:  जानकी माध्यामिक विद्यालय पोखरा १७ का विद्यार्थीलाई ईक्रा शिक्षा फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । संस्थाले विद्यालयका जेहेन्दार एवम् विपन्न वर्गका २० जना विद्यार्थीलाई जनही दुई हजारका दरले नगद वितरण ...

थप पढ्नुहोस्

पोखरा:  त्रिभुवन आर्मी क्लबले छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा रोमाञ्चक जित निकोलेका छ ।  पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो...

थप पढ्नुहोस्